Thursday, February 16, 2012

पग्ला कुकुर

  • डी.के.वाइबा
नानीहरुलाई सडकमा खेल्न नदिनू
पग्ला कुकुर निस्केको छ
होशियार ! जुनसुकै बेला टोक्न सक्छ।

आँखा निक्खुर रातो छ
पुच्छर तल झारेको छ
राल तप ! तप !! तप !!! चुहाउँदै कुदिरहेछ जताभावी।

दिमाग छ तर छैन बराबर
बिचार अस्थिर छ
पाइलाहरु अस्थिर छन्‌।

पानी देखाएर तर्साउन नखोज्नू
यो हाईड्रो फोबिया होइन
यो त आफ्नो अस्तित्व बचाउन पग्ला बनेको हो
त्यसर्थ याद गर्नु
यसले कुनै पनि क्षण टोक्न सक्छ
याद गर्नु ! सडकतिर जताभावी नहिड्नू। 

मान्छेको बस्तीमा धावा बोल्दै निस्केको
पग्ला कुकुरहरुको जमात बड्दैछ
याद गर्नू
टोकेर आफ्नो जमातमा तान्न सक्छ
पानी देखाएर भगाउन नखोज्नू

यो हाईड्रो फोबिया होइन।

बरु रॉंको बालेर
मौका परे थुतुनामा पोलिदिनू
झीर तताएर आँखा फोरिदिनू
किन कि यो पग्ला कुकुर हो
कुनै क्षण तपाईँलाई पनि टोक्न सक्छ ।

यो अवस्था पनि बितेर जानेछ

 लेखक: अज्ञात
स्रोत-विक्रम सुब्बा, नेपाल 

कुनै जमानामा एक साहासी राजा थिए । उनले एकदिन आफ्नो राज्यका सबै बुद्धिजिवीहरूलाई बोलाएर सोधे – "जस्तोसुकै अवस्थामा, जहाँसुकै र जहिले पनि कामलाग्ने, खुशीमा होस् वा दु:खमा, हारमा होस् वा जीतमा जहिले पनि काम लाग्ने, सबै किसिमका प्रश्नको जवाफ हुन सक्ने तिमीहरू कोही नभएका बेला पनि मलाई सल्लाहकारझैँ सल्लाह दिन सक्ने गजबको एक मन्त्र छ? मलाई त्यो चहियो ।"

राजाको निर्देशन सुनेर सबै बुद्धिजिवीहरू अलमल्ल परे । तर राजाको आज्ञा अनुसार सबै बुद्धिजिवीहरू बसेर सोच्न र छलफल गर्न थाले । सोच्दा सोच्दा हैरान भएको बेला एकजना अनुभवी तथा पाको मानिसले एक उपाय सुझाए जो सबै बुद्धिजिवीका लागि मान्य भयो । सो कुरा एक कागजको टुक्रामा राम्रोसँग लेखियो । त्यसपछि उनीहरु राजाकहाँ गएर उनिहरूले कागजमा लेखेको कुरा राजालाई दिँदै भने – "यो कागजमा लेखिएको एउटा शक्तिसाली मन्त्र छ जुन राजाले खोजेजस्तै छ तर एकदमै आपत परेका बेलामा मात्र यसलाई खोलेर हेरे काम गर्छ । जहिलेसुकै जतासुकै खोलेर हेरे मन्त्रले काम गर्दैन ।" राजाले कुरा स्वीकार गरे र मन्त्र लेखिएको कागजको टुक्रा आफ्नो हिराको औँठीको भित्रपट्टि राख्ने ठाउँ बनाएर राखे ।

केही समयपछि छिमेकी मुलुकबाट आक्रमण भयो । राजा र उनका सेनाले बहादुरीकासाथ लडे । तर अन्तमा छिमेकी राजाका सेनाले पेल्दैपेल्दै ल्याएकोले ज्यान बचाउँन भाग्नु पर्ने स्थिती आयो । राजा घोडामा केही सेना सहित भागे । भाग्दाभाग्दै राजा पहाडीजंगलको गिद्दे पहरा नजिक पुगे जहाँबाट अघि जाने बाटो नै देखिएन र पछि हटे दुश्मनको फेला परिने डर थियो । राजालाई के गरौँ र कसो गरौँ भयो । अब राजालाई आफ्नो अन्तिम दिन आएछ जस्तो लाग्यो । यसैबेला राजाले आफ्नो औँठीमा लुकाएर राखेको शक्तिसाली मन्त्रको कुरा झल्यास्स सम्झे र खोलेर हेरे । कागजमा छोटो हरफ (मन्त्र) लेखिएको रहेछ – "यो अवस्था पनि बितेर जानेछ ।"

राजाले त्यो मन्त्र पटक पटक पढे र मनमनै भन्न थाले – 'हो त नि! यो अवस्था पनि बितेर जानेछ । भर्खरै केही दिन अघिसम्म म मेरो दरवारमा मोजमस्ती गरिरहेको थिएँ । म सर्वशक्तीमान थिएँ । तर अहिले यत्तिबेला ती सब मसँग केही छैनन् । बरू म दुश्मनहरुबाट कसरी ज्यान जोगाउँने भनि चिन्ता र आपतमा छु । तर मलाई लाग्छ जसरी मेरा मोजमस्तीका समय गुज्रेर गए त्यसरी नै यो मेरो आपतकालिन समय पनि बितेर जानेछ ।' यस्तो सोचेपछि राजाको अनुहार शान्त भयो । राजाले आफ्ना केही सेनासँग त्यहीँ उभिएर वरिपरिका सुन्दर दृश्यहरू हेर्न थाले । त्यति राम्रो प्राकृतिक दृश्य आफ्नै राज्यमा छ भन्ने कुरा उनले पहिले कहिल्यै सोचेका पनि थिएनन् ।

यसरी त्यो कागजको टुक्रामा लेखिएको सन्देश (मन्त्र)ले राजाको मनलाई धैर्य धारण गर्न अदभुत काम गरिदियो । जसले गर्दा राजाले आफ्ना दुश्मनहरूले आफुलाई पछ्याईरहेको बारे चिन्तै नलिई आनन्दसँग रहन सके । केहीबेर पछि कान लगाएर सुन्दा दुश्मनहरूको हल्लाखल्ला सुनिएन । हेर्दैजाँदा दुश्मनहरु कतै देखिएनन् ती अर्के बाटोतिर लागिसकेछन् । आपतकालिन समय बितेर गयो र राजाको ज्यान जोगियो ।

राजा एकदमै सहासी किसिमका थिए । त्यसैले उनले फेरि आफ्नो सैन्य शक्ति बढाएर दुश्मनहरुसँग युद्ध गरेर जिते र आफ्नो राज्य फिर्ता गरे । युद्ध जितेर फर्काँदा राजधानीमा सबै जनताले उनको भव्य स्वागत गरे । मुलुकभरि सबै खुशी भए । जनताले राजालाई फुल माला अबिरले पुरेर गाउँदै-नाच्दै खुशी व्यक्त गरे । राजाले मनमनै भने 'म एकजना बहादुर राजा हुँ । मलाई कसैले जित्न सक्दैन ।' तर त्यतिनै बेला आफ्नो औँठीभित्रको मन्त्र सम्झे – "यो अवस्था पनि बितेर जानेछ ।" त्यसपछि राजा झसङ्ग भए र फेरि शान्त भए ।  युद्धमा पाएको "जीत"ले उनको 'घमण्ड'भरिएको अनुहार विस्तारै 'नम्र' मानिसको अनुहारमा परिणत भयो । राजाले निचोड निकाले – 'यदि कुनैकुरा बितेर जान्छ भने यो त मेरो आफ्नो होइन । अर्थात 'हार' पनि मेरो होइन । 'जीत' पनि मेरो होइन । म त सिरिफ 'दर्शक' पो रहेछु । मैले हेर्दाहेर्दै सबै कुरा बितेर जाने रहेछन् । ओहो! म त सिरिफ 'दर्शक' मात्र रहेछु, सिरिफ 'साक्षी' मात्र रहेछु । 'जीवन' पनि आउँने र बितेर जाने रहेछ । 'सुख' पनि आउँने र बितेर जाँने, 'दुख' पनि जीवनमा आउँने र समयसँगै बितेर जाने रहेछ ।'

===========================
पृय पाठक, यो कथा पढिसकेपछि एकचोटि चुपचाप बसेर आफ्नो जीवनको समिक्षा गर्नोस् । तपाइँको जीवनमा कति सफलता र असफलताहरु आए र समयसँगै बितेर गए? तपाइँको जीवनमा पनि कति सुख-दु:ख आए र समयसँगै बितेर गए? सफलता, असफलता, सुख, दु:ख सबै क्षणिक त रहेछन् नि! ती सबै आउँदारहेछन् र समयसँगै बितेर जाँदारहेछन् ।

जन्मे पछि जीवन कुनै न कुनै किसिमले बितेर जानेनै रहेछ । दुनियामा सबै कुरा अनित्य रहेछन्, सबै कुरा परिवर्तनशील रहेछन् । तपाइँ आफ्नै ढंगले यो कुरा मनन् गर्नोस् । तपाइँले पनि थुप्रै परिवर्तनहरु देखिसक्नु भएकोछ । तपाइँले कति धोखा खाए पनि, असफलता सामना गर्नु परेपनि वा दु:खकष्ट झेल्नु परेपनि गुजारा गरेरै आउँनु भएकोछ । हाल विद्यमान तपाइँको जीवनको समस्या (यदि छ भने) पनि समयसँगै बितेर जानेछ । किनभने यो समसारमा कुनै पनि सुख वा दु:ख सदासदाका निम्ति हुन सक्दैन । जवानी र प्रौढता, बैँभव र गरिवी, हाँसो र रुवाई, सूख र दु:ख जीवनका दुइपाटा हुन् । कहिले कुन पल्टिदिन्छ कहिले कुन? यी दुबैले बेला बेला आफ्नो अनुहार देखाउँछन् तर बलवान समयले दुबैको अनुहार खोसेर लैजान्छ । हामी त केवल परिवर्तनका "सक्षी" मात्र हौँ । त्यसैले वर्तमानलाई अनुभुत गर्नोस्, त्यसलाई ठिक ढंगले बुझ्नुहोस् र उचित किसिमले भोग्नुहोस् । आत्तिने वा मात्तिने वा घमण्ड गर्ने वा लघुताभासमा जिउने कुनै कारण छैन । किनभने यो वर्तमान (?) पनि हेर्दा हेर्दै खोलाको पानीझैँ निरन्तर बगेर गईरहेछ । शायद वर्तमान भन्ने कुरा पनि हुन्न । किनभने "आँखा झिमिक्क गरिसक्ने बित्तिकै मैले आँखा झिमिक्क गरेँ" भनेर भुतकालमा हामीले बोल्नु पर्छ ।

Monday, February 13, 2012

के नै पो गर्छस्‌ र तैंले?

  • भूपेन्द्र सुब्बा।

के नै पो गर्छस्‌ र तैंले?
मुख सिलाई दे
बोल्नु छोड्‌दिनँ अन्त

कान बुच्चाई दे
कराउनु छोड्‌दिनँ

आँखा थुनिदे
देख्न मरे छोड्‌दिनँ

तेरो पाखण्डी अनुहारको
नाङ्गो नक्सा त म
आँखा चिम्म गरेरै बनाइदिन्छु।

के नै पो नाप्छस्‌ र तैंले?

तँलाई थाह छैन
म को हुँ

तैंले टेकिरहेको भुइँको
घॉंस हुँ

आगो लगा कि डढेलो सल्का
तर भुइँमुनिको जराबाट
तेरो रावण-कथा भन्न
म पटक पटक उम्रिरहने छु

हेर्‌ मात्र तैंले
बिजुवाको आँगमा सोगा उत्रेर
सत्ये सत्ये अब
के के पो बक्दिनँ र !
(कालेबुङमा च्यानलहरू बन्द गरेपछि। गणतन्त्रको निम्ति भूपेन्द्रको कविता)
बिजनबारी

Friday, January 27, 2012

कथा

  • वासुदेव पुलामी
हेङ्गओभर

मैले पनि कस्सेर दुई झापट दिएँ।
उपाय केही थिएन मसित। जस्तो भएपनि बोल्नुको भाँति हुनपर्छ मान्छेको। अहिले सामान्य भएको छु- तथापि कन्सिरी तात्तिएर आउँछ उसलाई सम्झँदा।
* * *
बसोस् माइतीको घरमा।
मैले मात्रै रिस पिउनु ? उसले पनि पिओस्।
 रिसले मात्ने बानी होस् उसलाई पनि।
मनले अझसम्म झापट कस्सिरहन्छ – उसलाई।
* * *
झगडा।
झगडा हुनलाई ठूलो कारण चाहिँदैन। कति स-साना कुराले हिर्काउँछ उसले।
उसको कुरा जहिले पनि माथिबाट हुनैपर्छ।
अपत्यारिलो कुराको बहसलाई पनि पचाइदिनुपर्छ।
हद हुन्छ। हददेखि बाहिर कुरा गर्नु त हुँदैन नी।
जब्बरजस्ती र हठीपनको पनि सिमा हुन्छ।
कुन्नि कस्तो दिन र साइतमा उसका बोलीका गोलीले हाम्रो मायाको अग्लो पर्खाल गर्ल्याम्म ढाल्छ।
परिणाम – हप्ता दिन। कोहीबेला महिनादिनसम्म राम्रो सँग बोलचाल नै हुँदैन।
* * *
उफ्।
आज हप्ता दिन पो भएछ। फोन् पनि गर्दिनन्।
आउदिनन् त। मिसकल गरूँ कि सम्झे, होस् गर्दिनँ पनि सम्झै एकैचोटि।
ऐना हेर्छु – केस लामो भएछ। दाह्री खौरन्छु।
उसका रिसहरू सम्झन्छु सबै पग्लिएर चिसो भएको पाउँछु मायाको धङ्धङीले ।
एक्लै हाँस्छु ऐना हेर्दै – आज मेरो चामे हुने दिन रहेछ।

गाउँ र शहर

  • मिलन वान्तवा


गाउँको नेगेटिभ बोकेर हिँडिरहने शहर
आवश्यकता अनुसार प्रिन्ट निकालिबस्छ कवितामा
शहरले खिचेको गाउँको नक्शामा
समेटिनै सक्दैन गाउँको मन।

गाउँको रुखमा चराले लाएको गुँड
भत्काइरहन्छ छुल्याहा केटाकेटीहरु
तहसनहस भएको आफ्नै अनुहार हेरेर
लाचार मुस्कुराइबस्छ गाउँ ।

भालेको डाकसितै कोइलीले अलापेको राग
गाउँकै भाकामा सुनिन्थे उहिले
विश्व-बजारको हिसाब-किताब सुनाइबस्छ
अचेल गाउँका गीतहरु ।

गज्जबले तिर्खाएको गाउँ
पधेराको रसिलो पानी
धीत मरुञ्जेल पिउँछ सपनामा ।

कुतकुतीहरुको ह्यङओभर मेटाउन
कुनै तरुणीको बैँससित इत्रीन खोजिबस्छ
भर्खरै ईन्टरनेटमा पोर्नोसाईट हेरेर फर्केको गाउँ ।

शहरले गाउँ बेचेको कथा सुनेर दिक्कै बन्छ
अनि सङ्कल्प गर्छ शहरलाई बेच्न
शहरमा आफैलाई बेचेर निर्धक्क सुत्छ गाउँ।

हरदम बिक्री भैरहन्छ
लेबल टाँसेर राखिएको गाउँको नक्शा
शहरको शोकेशभित्र गाउँको भूगोल तर शहरले बुझ्दैन
शहरको ईतिहास डल्लै थाहा छ गाउँलाई ।

Friday, January 20, 2012

हर्कबहादुर

  • राजा पुनियानी


कुन दिन बन्द हुने हो त
हाम्रो कमान चाहिँ-
दिन गन्दै बसेको हर्कबहादुरसँग
अस्सीको चिह्नारीको लड़ाइँमा
झण्डै गएको एउटा अधमरो ज्यान छ

झण्डै लुटिएकी एउटी लुती स्वास्नी छे
र झण्डै जलेको चुपचाप घर छ

गाईलाई बिहान घाँस ल्याइवरि
कमान जानअघि
एकपटक छोरीको अनुहार हेर्छ

साँझ घर आउनअघि
बैदारको हेपुवा अनुहार हेर्छ

दिनभरि हर्कबहादुर
चियाका गाछहरूसँगै हुन्छ
ऊ देख्दैन चियागाछको अनुहार
चियागाछमा सधैं हर्कबहादुर
हेपाइ, हप्की र गाली मात्र हेर्छ
चियागाछमा उ बरू बड़ेमानको ताला देख्छ
हतियारझैं ढुङ्गा देख्छ
खिया लागेको खुकुरी देख्छ
पुरानो धनुकाँड़ देख्छ

सीतारामको हुटेलमा पाइने झीँगासरिको सिङ्गाड़ा देख्छ
राशनको डौंठे चामलको रातोरातो भात देख्छ
छोराको स्कूलको फी देख्छ
दम बढ़्ने आमाको दबाइको पोका देख्छ
श्रीरामछाप खैनीको गुलाफी प्याकेट देख्छ

हर्कबहादुरको दिन
चियाका गाछहरूसँगै बित्छ
ऊ देख्दैन चियागाछको अनुहार
चियागाछमा हर्कबहादुरले देख्छ

उसको बाजेबोजुको खुन
उसको आमाबाबुको पसीना
उसको आफ्नै हातको ठेला
र स्वास्नीका पटपटी फुटेका औंलाहरू
कुन दिन बन्द हुने हो त
हाम्रो कमान चाहिँ-


दिन गन्दै बसेको हर्कबहादुरसँग
कति-कति झण्डैहरू होलान्
गनिनसक्नु
 •
सुकना

लाज

  • कर्ण विरह

अनुहारको भित्ताभरि
रेखा कोरिएर आउँछ लाज
र कस्सैलाई सुइँको नदिई
सुइत्त भाग्छ।

च्याप्प समाउँछ यसले एकैक्षण
आँखाका दुईटै मुटुलाई।

आदम र हव्वाले बगैँचाको फल खाएकै क्षणदेखि
यसले आफूलाई चिनाएको हो।

आचार्य भरतमुनिको रससूत्रको कापमा
व्यभिचारी भाव बनेर फुलेको छ यो एउटा सुनाखरी।

सुन्दरी ठिटीहरूका गालाको पाखाभरि
सौन्दर्यको रगत बनेर फुलेको छ यो एउटा गुराँस।

सभ्यताको मोटो जीउमा
यसैले भरेका मासुहरू छन् ताजा।

वास्तवमा
यसले देखाउनै खोजेको चाहिँ
शिष्टाचारको विज्ञापन मात्र हो।

यो लाज,
लाग्नु पनि खराब
नलाग्नु झन खराब।

बिजनबारी, दार्जीलिङ