Friday, January 20, 2012

हर्कबहादुर

  • राजा पुनियानी


कुन दिन बन्द हुने हो त
हाम्रो कमान चाहिँ-
दिन गन्दै बसेको हर्कबहादुरसँग
अस्सीको चिह्नारीको लड़ाइँमा
झण्डै गएको एउटा अधमरो ज्यान छ

झण्डै लुटिएकी एउटी लुती स्वास्नी छे
र झण्डै जलेको चुपचाप घर छ

गाईलाई बिहान घाँस ल्याइवरि
कमान जानअघि
एकपटक छोरीको अनुहार हेर्छ

साँझ घर आउनअघि
बैदारको हेपुवा अनुहार हेर्छ

दिनभरि हर्कबहादुर
चियाका गाछहरूसँगै हुन्छ
ऊ देख्दैन चियागाछको अनुहार
चियागाछमा सधैं हर्कबहादुर
हेपाइ, हप्की र गाली मात्र हेर्छ
चियागाछमा उ बरू बड़ेमानको ताला देख्छ
हतियारझैं ढुङ्गा देख्छ
खिया लागेको खुकुरी देख्छ
पुरानो धनुकाँड़ देख्छ

सीतारामको हुटेलमा पाइने झीँगासरिको सिङ्गाड़ा देख्छ
राशनको डौंठे चामलको रातोरातो भात देख्छ
छोराको स्कूलको फी देख्छ
दम बढ़्ने आमाको दबाइको पोका देख्छ
श्रीरामछाप खैनीको गुलाफी प्याकेट देख्छ

हर्कबहादुरको दिन
चियाका गाछहरूसँगै बित्छ
ऊ देख्दैन चियागाछको अनुहार
चियागाछमा हर्कबहादुरले देख्छ

उसको बाजेबोजुको खुन
उसको आमाबाबुको पसीना
उसको आफ्नै हातको ठेला
र स्वास्नीका पटपटी फुटेका औंलाहरू
कुन दिन बन्द हुने हो त
हाम्रो कमान चाहिँ-


दिन गन्दै बसेको हर्कबहादुरसँग
कति-कति झण्डैहरू होलान्
गनिनसक्नु
 •
सुकना

No comments:

Post a Comment