Friday, January 27, 2012

कथा

  • वासुदेव पुलामी
हेङ्गओभर

मैले पनि कस्सेर दुई झापट दिएँ।
उपाय केही थिएन मसित। जस्तो भएपनि बोल्नुको भाँति हुनपर्छ मान्छेको। अहिले सामान्य भएको छु- तथापि कन्सिरी तात्तिएर आउँछ उसलाई सम्झँदा।
* * *
बसोस् माइतीको घरमा।
मैले मात्रै रिस पिउनु ? उसले पनि पिओस्।
 रिसले मात्ने बानी होस् उसलाई पनि।
मनले अझसम्म झापट कस्सिरहन्छ – उसलाई।
* * *
झगडा।
झगडा हुनलाई ठूलो कारण चाहिँदैन। कति स-साना कुराले हिर्काउँछ उसले।
उसको कुरा जहिले पनि माथिबाट हुनैपर्छ।
अपत्यारिलो कुराको बहसलाई पनि पचाइदिनुपर्छ।
हद हुन्छ। हददेखि बाहिर कुरा गर्नु त हुँदैन नी।
जब्बरजस्ती र हठीपनको पनि सिमा हुन्छ।
कुन्नि कस्तो दिन र साइतमा उसका बोलीका गोलीले हाम्रो मायाको अग्लो पर्खाल गर्ल्याम्म ढाल्छ।
परिणाम – हप्ता दिन। कोहीबेला महिनादिनसम्म राम्रो सँग बोलचाल नै हुँदैन।
* * *
उफ्।
आज हप्ता दिन पो भएछ। फोन् पनि गर्दिनन्।
आउदिनन् त। मिसकल गरूँ कि सम्झे, होस् गर्दिनँ पनि सम्झै एकैचोटि।
ऐना हेर्छु – केस लामो भएछ। दाह्री खौरन्छु।
उसका रिसहरू सम्झन्छु सबै पग्लिएर चिसो भएको पाउँछु मायाको धङ्धङीले ।
एक्लै हाँस्छु ऐना हेर्दै – आज मेरो चामे हुने दिन रहेछ।

No comments:

Post a Comment