Friday, January 20, 2012

लाज

  • कर्ण विरह

अनुहारको भित्ताभरि
रेखा कोरिएर आउँछ लाज
र कस्सैलाई सुइँको नदिई
सुइत्त भाग्छ।

च्याप्प समाउँछ यसले एकैक्षण
आँखाका दुईटै मुटुलाई।

आदम र हव्वाले बगैँचाको फल खाएकै क्षणदेखि
यसले आफूलाई चिनाएको हो।

आचार्य भरतमुनिको रससूत्रको कापमा
व्यभिचारी भाव बनेर फुलेको छ यो एउटा सुनाखरी।

सुन्दरी ठिटीहरूका गालाको पाखाभरि
सौन्दर्यको रगत बनेर फुलेको छ यो एउटा गुराँस।

सभ्यताको मोटो जीउमा
यसैले भरेका मासुहरू छन् ताजा।

वास्तवमा
यसले देखाउनै खोजेको चाहिँ
शिष्टाचारको विज्ञापन मात्र हो।

यो लाज,
लाग्नु पनि खराब
नलाग्नु झन खराब।

बिजनबारी, दार्जीलिङ

No comments:

Post a Comment