Thursday, February 16, 2012

पग्ला कुकुर

  • डी.के.वाइबा
नानीहरुलाई सडकमा खेल्न नदिनू
पग्ला कुकुर निस्केको छ
होशियार ! जुनसुकै बेला टोक्न सक्छ।

आँखा निक्खुर रातो छ
पुच्छर तल झारेको छ
राल तप ! तप !! तप !!! चुहाउँदै कुदिरहेछ जताभावी।

दिमाग छ तर छैन बराबर
बिचार अस्थिर छ
पाइलाहरु अस्थिर छन्‌।

पानी देखाएर तर्साउन नखोज्नू
यो हाईड्रो फोबिया होइन
यो त आफ्नो अस्तित्व बचाउन पग्ला बनेको हो
त्यसर्थ याद गर्नु
यसले कुनै पनि क्षण टोक्न सक्छ
याद गर्नु ! सडकतिर जताभावी नहिड्नू। 

मान्छेको बस्तीमा धावा बोल्दै निस्केको
पग्ला कुकुरहरुको जमात बड्दैछ
याद गर्नू
टोकेर आफ्नो जमातमा तान्न सक्छ
पानी देखाएर भगाउन नखोज्नू

यो हाईड्रो फोबिया होइन।

बरु रॉंको बालेर
मौका परे थुतुनामा पोलिदिनू
झीर तताएर आँखा फोरिदिनू
किन कि यो पग्ला कुकुर हो
कुनै क्षण तपाईँलाई पनि टोक्न सक्छ ।

No comments:

Post a Comment